काठमाडौं, चैत्र १४ – नेपालमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै दुर्गा प्रसाईँको नेतृत्वमा भोलि (चैत्र १५) काठमाडौंको तीनकुने क्षेत्रमा विशाल प्रदर्शन हुने भएको छ। यस आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न समूहहरूको समर्थन रहेको छ।

दुर्गा प्रसाईँले गणतन्त्र असफल भएको दाबी गर्दै मुलुकलाई स्थायित्व दिन राजतन्त्र पुनःस्थापनाको आवश्यकता रहेको बताएका छन्। आन्दोलनका क्रममा तीनकुनेमा ठूलो संख्यामा समर्थकहरू भेला हुने, नाराबाजी गर्ने र सभा आयोजना गरिनेछ।
तर, सोही दिन गणतन्त्रको पक्षमा पनि अर्को ठूलो प्रदर्शनको तयारी भइरहेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायतका गणतन्त्र समर्थक शक्तिहरूले काठमाडौंमा गणतन्त्रको बचावटका लागि प्रदर्शन गर्ने घोषणा गरेका छन्।
काठमाडौंमा सुरक्षा व्यवस्था कडा
राजतन्त्र समर्थक र गणतन्त्र पक्षधर प्रदर्शन एकैदिन परेकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रशासनले दुबै पक्षलाई शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेको छ। सुरक्षाकर्मीहरूलाई संवेदनशील स्थानहरूमा तैनाथ गरिएको छ, ताकि कुनै अप्रिय घटना नहोस्।
राजनीतिक रूपमा महत्वपूर्ण मानिएको यो दिनले नेपालमा राजनीतिक बहसलाई थप तिव्र बनाउने अनुमान गरिएको छ।
